काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास नपुग्दै उहाँ बेग्लै आकर्षणको केन्द्र बन्नुभयो । कारण थियो उहाँको राष्ट्रिय पोसाकको परिधान । यसअघि २०६५ र २०७३ सालमा प्रधानमन्त्री हुँदा र अन्य अवस्थामा पनि औपचारिक समारोहमा रहँदा उहाँले कहिल्यै पनि दौरा, सुरुवाल, कोट र टोपी लगाउनुभएको थिएन । उहाँ जहिले पनि सुट र टाईमा नै रहनुहुन्थ्यो । यस पटक पनि आम अपेक्षा सुट र टाईमा नै शपथग्रहण गर्नुहुने थियो ।
पहिलो पटक नौलो पहिरन लगाएकै कारण हुनसक्छ, उहाँले कुर्सीमा बस्दा पनि अलि असजिलो महसुस गरिरहेको देखिन्थ्यो । उपस्थित अन्य व्यक्तिहरूले पनि उहाँलाई खुब नियालिरहनुभएको थियो । विगतमा सर्ट, पाइन्ट, कोट र टाई लगाउने बानी परेको भएर हुनसक्छ, प्रधानमन्त्री प्रचण्डले सोमबार पनि टाई नै मिलाए जसरी पटक पटक हात घाँटीमा लगिरहेको देखिन्थ्यो । उहाँ कुर्सीमा बसिरहँदा पनि खुम्चियो कि भनेर दौरालाई पटक पटक दायाँबायाँ तन्काइ रहनुहुन्थ्यो । उहाँले पहिलो पटक दौरा, सुरुवाल लगाएको विषयले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ ।
शपथग्रहणको कार्यक्रम सुरुवात हुने क्रममा त्यहाँ देखिएको अर्को दृश्य पनि अलि भिन्न थियो । कार्यक्रम सञ्चालकबाट प्रधानमन्त्री प्रचण्डलाई शपथ खुवाउने प्रक्रिया सुरु भएको जानकारी गराएपछि उपस्थित सबै जना आ–आफ्नो स्थानमा उभिनुभयो तर प्रचण्डको दाहिनेतर्फ कुर्सीमा बसिरहनुभएका निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उठ्नुभएन ।
सबै जना उभिएर शपथग्रहणको क्रम सुरु हुन लाग्दासमेत कुर्सीबाट नउठेपछि सँगै उभिएका सुरक्षाकर्मीले उहाँलाई केही इसारा गरे । त्यसपछि देउवा पनि कुर्सीबाट उठ्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्रीलाई शपथ गराएपछि उहाँ हात मिलाएर कार्यक्रमबाट बाहिरिनुभयो ।
राष्ट्रपति भण्डारीबाट पालैपालो प्रधानमन्त्री र तीन जना उपप्रधानमन्त्रीलाई शपथ गराएपछि मन्त्रीहरूको शपथग्रहणको कार्यक्रम सुरु भएको जानकारी आयो तर चार जना मन्त्रीमध्ये ज्वालाकुमारी साह भने तोकिएको समयमा उपस्थित हुन सक्नुभएन । समारोहमा आउने क्रममा ट्राफिक जाममा फसेकाले ढिलो भएको जानकारी आएपछि तीन जना मन्त्रीलाई शपथग्रहण गराएको केही समयपछि साहलाई मात्रै छुट्टै शपथग्रहण गराइएको थियो ।
तर शपथग्रहण गराउने क्रममा माइकमा खराबी आएपछि राष्ट्रपति र प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूको आवाज स्पष्ट सुनिएको थिएन ।
पार्टी विभाजनपछि नै तिक्ततापूर्ण सम्बन्धमा रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एकै लाइनमा राखिएका कुर्सीमा दायाँबायाँ बसेको दृश्य पनि रोचक थियो तर सँगै बसे पनि दुवै नेताले एक अर्कामा बोलचाल नगरी दायाँबायाँ मुन्टो बटारेको दृश्यलाई उपस्थित अन्यले निकै चासोपूर्वक नियालिरहेका थिए ।