Sunday, February 2


कम्युनिष्टइतरको सरकार कति सम्भावना ?

काठमाडौं । संसदमा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले आफूलाई दुई धारे तरबार सावित गर्न खोजेपछि उछिट्टिएर सडकमा पुग्ने संकेत नेपाली राजनीतिमा देखिएको छ । आफूलाई जसले प्रधानमन्त्री पद दिन्छ उसैको गठबन्धनमा रहने माओवादी नीतिलाई संसदको दुई ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेले साइजमा ल्याउने रणनीति तय गरेको बुझिएको छ ।

यसका लागि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘गोप्य सल्लाह’ मा कांग्रेसका केही दोस्रो पुस्ताका नेता कम्युनिस्टइतरको सरकार बनाउने गृहकार्यमा जुटेका छन् । कम्युनिस्टइतर शक्तिलाई जुटाउँदा सजिलैसँगै १ सय ४५ भन्दा बढी सिटसहित स्पष्ट बहुमत हुने हुँदा कांग्रेस सो गृहकार्यमा जुटेको स्रोतको दाबी छ ।

यता, एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीलाई कांग्रेस गठबन्धनमा धकेलेर भए पनि गठबन्धन फुटाउने रणनीतिमा लागेका छन् । गठबन्धनबाट माओवादी र नेकपा एकीकृत समाजवादीलाई अलग गरेर मध्यावधि निर्वाचनमा गइयो भने एमालेलाई बहुमत प्राप्त हुने र पाँच वर्षभित्रै आफू बहुमतको प्रधानमन्त्री बन्ने अध्यक्ष ओलीको रिडिङसहित कांग्रेसलाई साथ दिने मनस्थिति बनाएको बुझिएको छ ।

अध्यक्ष ओलीले एमालेमै अर्को हार्डलाइनर समूह विकास गरेका छन् । यो समूहले माओवादी र नेकपा (एस) लाई एक आँखाले पनि देख्न सक्दैन । यदि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भयो भने पनि आफूहरु ‘नोट अफ डिसेन्ट’ लेख्ने हार्डलाइनरहरुको अभिव्यक्ति सार्वजनिक भइसकेको छ । यो समूहले नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाललाई कर्नरमा धकेल्न मात्र चाहेको छैन, अन्य सांसदलाई मन्त्री बन्नबाट रोक्नसमेत चाहेको छ । त्यसका लागि उनीहरुलाई गठबन्धनबाट अलग गराउन सकियो भने मात्र सम्भव हुने उनीहरुको बुझाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा उठाउने गरेका मात्रै छैनन्, छिट्टै आफू देशको कार्यकारी पदमा पुग्ने घोषणासमेत गरेका छन् । तर कांग्रेस वृत्तमा आलोपालो प्रधानमन्त्रीको च्याप्टर क्लोज गर्नुपर्ने आवाज शक्तिशाली बन्दै गएको छ ।

विशेषगरी कांग्रेसले माओवादी केन्द्रसँग सहकार्य गरिरहँदा त्यसले सिंगो पार्टी पंक्तिलाई गम्भीर क्षति पु-याइरहने हुँदा आमकांग्रेस कार्यकर्ताको चाहनाअनुसार माओवादी केन्द्रसँगको सहकार्य टुटाएर कम्युनिस्टइतर शक्तिसँगको सहकार्यमा सरकार बनाउने आन्तरिक तयारी गरिएको कांग्रेस निकट उच्च स्रोतले जानकारी दिएको छ ।

निर्वाचनमा प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सिट गरी कांग्रेसले ८९ सिट ल्याएको छ भने माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट गरी ३२ सिट ल्याएको छ । कांग्रेसका अधिकांश नेता तथा सांसद ८९ सिट ल्याएको कांग्रेसले ३२ सिट ल्याएको माओवादी केन्द्रलाई कुनै पनि हालतमा प्रधानमन्त्री पद दिन नहुने निष्कर्षमा पुगेको बताइन्छ ।

कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, लोसपा र केही स्वतन्त्र सांसदलाई समेट्दा स्पष्ट बहुमत आउन सक्ने विश्लेषण गरेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ सहित १ सय ४५ सिट पुग्छ । त्यसमा स्वतन्त्रबाट जितेका अमरेशकुमार सिंहलगायत अन्य दुई जनालाई समेत समेट्दा १ सय ४८ सिट पुग्ने कांग्रेसको विश्लेषण छ ।

एमाले गठबन्धनबाट राप्रपा र जसपा अलग भएपछि प्रचण्डको नेतृत्वमा सरकार बन्ने सम्भावना न्यून रहन्छ । एमालेसँग रहेको ७८, माओवादीको ३२ र नेकपा (एस) को १० सिट जोड्दा १ सय २० पुग्नेछ । सरकार गठनका लागि १३८ सिट आवश्यक पर्छ । थप १८ सिट जोड्न कम्युनिष्ट गठबन्धनले ठूलै जोडबल लगाउनुपर्ने हुन्छ ।

सरकार गठनभन्दा पनि कांग्रेस गठबन्धन फुटाउनलाई नै एमालेले सफलताको रुपमा लिनेछ । गठबन्धनबाट माओवादी केन्द्र र नेकपा (एस) अलग भयो भने एमालेले आफूलाई सरकारमा रहे सरह अनुभूत गर्नेछ । यदि नेपालको राजनीति यही कोर्षमा अघि बढे प्रधानमन्त्री बन्न खुट्टा उचालेका अध्यक्ष प्रचण्ड सडकमा उत्तानो पर्ने छन् भने नेकपा (एस) का आधाभन्दा बढी संसद एमालेमा मिसिन पुग्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.