Friday, March 14


उपत्यकाबाट प्रदेश सभामा माओवादी शून्य

काठमाडौँ । उपत्यकाबाट प्रतिनिधि सभामा जस्तै प्रदेश सभामा पनि नेकपा (माओवादी केन्द्र) शून्य भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रदेश सभाका ३० मध्ये छ स्थानमा माओवादी केन्द्रको उम्मेदवारी थियो । उनीहरू सबै पराजित भए ।

भक्तपुरको प्रदेश सभाका चार क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार थिएनन् । ललितपुर क्षेत्र नं. १ (क)मा माओवादीका उम्मेदवार पराजित भए भने (ख)मा उम्मेदवारी थिएन । काठमाडौँ क्षेत्र नं. ३ (क)मा माओवादीको उम्मेदवारी थियो तर पराजित भए । काठमाडौँ क्षेत्र नं. ६ को (क) र (ख)मा उम्मेदवारी भए पनि पराजित भए । काठमाडौँ क्षेत्र नं. १० (क) र (ख)मा उम्मेदवारी थियो तर पराजित भए ।

माओवादी केन्द्रका सचिव गणेश साहले पार्टीको आन्तरिक तथा सङ्गठनात्मक कमजोरी, गठबन्धनको असहयोग र पुराना पार्टीप्रतिको असन्तुष्टि नयाँ र स्वतन्त्रप्रतिको आकर्षणले गर्दा माओवादी केन्द्र उपत्यकामा शून्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपत्यकामा माओवादी केन्द्र कमजोर छ भन्ने कुरा त स्थानीय तहको निर्वाचनबाटै देखिएको थियो तर गठबन्धनका कारण हाम्रो सम्भावना भएका क्षेत्रमा उम्मेदवारी नपाउने, नभएका क्षेत्रमा पाउने अवस्थाले गर्दा पनि समस्या भयो ।”

उपत्यकाको तीन जिल्लाबाट प्रदेश सभामा नेपाली कांग्रेसले ११ र नेकपा (एमाले)ले नौ स्थान जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट जितेको छ । नेकपा (एकीकृत समाजवादी) तीन क्षेत्रमा विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published.