काठमाडौं। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न निर्वाचन क्षेत्रमा पुराना एवम् अनुभवी उम्मेदवारलाई पाखा लगाउँदै नयाँ अनुहार मतदाताको रोजाइमा पर्न सफल भए । निर्वाचनमा प्राप्त फरक खाले नतिजाको विभिन्न कोणबाट विश्लेषण भएको छ ।
विकल्प खोज्नु सकारात्मक – बराल
राजनीतिक विश्लेषक प्राध्यापक डा. लोकराज बराल यसरी नयाँ अनुहार जितेर आउनुका पछाडि मतदाताले विकल्प खोजेको बताउनुहुन्छ । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “सबैले बुझिसके र भनी पनि रहेका छन् । मुख्य पार्टीसँगको निराशा, आक्रोश त्यसको परिणाम त्यो हो । मान्छेले विकल्प खोज्छ नि त”, नेतृत्वमा पुरानै व्यक्ति पटक–पटक जाने र यथास्थितिमा देश सञ्चालन भइरहेको भान आम मतदातामा भएको उहाँको भनाइ छ ।
यही व्यवस्थाभित्र विकल्प खोज्नु सकारात्मक भएको भन्नुहुँदै उहाँले जोड्नुभयो, “विकल्प खोज्नु सकारात्मक कुरा हो । जनता सचेत हुनु भनेको त्यो चुनावको लागि राम्रो कुरा हो । तर कति टिक्छन् । कति आन्दोलन गरेर आएका पार्टीहरू छन् आखिरमा कुर्सीका लागि लेनदेन भए ।”
निर्वाचित हुनुभएका नयाँ अनुहारले पुरानै नेतृत्वले गरेको गल्तीहरू दोहोर्याउन नहुने उहाँको सुझाव छ । उहाँले सत्तामुखी, आत्मकेन्द्रित, व्यक्तिवादी सोचलाई हटाएर अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली जस्ता जनताको मागलाई पूरा गर्न सक्नुपर्ने बताउनुभयो ।
“पुराना नेताले पनि परिवर्तनलाई बुझ्न सक्नुपर्छ । आफ्ना गल्तीलाई सच्याएर लान सके भने, विकल्पमा आउनेले पनि राम्रोसँग काम गरेर देखाउनुपर्छ । नभएर, यिनीहरू पनि फालिन्छन्, त्यही हो”, विकल्पमा आएका नयाँ अनुहारलाई जनमुखी काम कार्यान्वयन गर्न भने चुनौती रहेको उहाँको भनाइ छ ।
तत्कालै आशावादी हुने अवस्था छैन – सुवेदी
राजनीतिक विश्लेषक झलक सुवेदी दलहरूको राजनीतिक अवसरवादप्रति, सत्ता मोहप्रति बढ्दो झुकाव भएकाले मतदाताको रोजाइमा नयाँ अनुहार पर्न सकेको बताउनुहुन्छ ।
सुवेदी भन्नुहुन्छ, “राजनीतिक, अवसरवादप्रति, सत्ता मोहप्रति, गठबन्धन गरेर बाँडीचुँडी खाने । जनतालाई जुन दिनुपर्ने डेलिभरी, सेवा, सुविधा छ, यस कुराप्रति आम मानिसको आक्रोश हो । नयाँ पुस्ताले आक्रोश देखाए ।”
उहाँले विकल्पका रूपमा नयाँ अनुहार आए पनि तत्कालै आशावादी हुन सक्ने अवस्था भने नरहेको बताउनुभयो । विकल्पमा आउनुभएका उम्मेदवारले काम राम्रोसँग गर्नुपर्छ भन्ने गरेको तर, शिक्षा, स्वास्थ्य, परराष्ट्र यस्ता कुरामा धारणा प्रस्ट भने नदेखिएको उहाँको विश्लेषण छ ।
“राम्रोसँग काम गर्नुपर्छ भन्ने छ । तर, शिक्षा, स्वास्थ्य, परराष्ट्र यस्ता कुरामा धारणा प्रस्ट चाहिँ देखिँदैन । पछि गएर दलहरूसँग मिलेर सरकारमा जाने, मन्त्री हुने बाटोमा लागे भने आशा हुने ठाउँ छैन”, नयाँ उम्मेदवारहरू कसरी सम्हालिएर प्रस्तुत हुन्छन्, यसमा भर पर्ने उहाँको भनाइ छ । तर, पुराना दल एवम् नेताहरू नेतृत्व पुस्तान्तरण गरेर अघि बढ्नुपर्ने उहाँको सुझाव छ ।
पुरानाले नयाँलाई स्थान दिनुपर्छ – खनाल
यस्तै, राजनीतिक विश्लेषक मुमाराम खनालले परम्परागत एवम् आन्दोलनबाट स्थापित पुराना दल र नेताहरू नागरिकका तत्कालीन समस्या, आवश्यकता, सुशासनका विषयमा ध्यान नदिँदा एकखाले गुनासो पहिलादेखि नै पैदा भइरहेको बताउनुभयो ।
खनालले भन्नुभयो, “नागरिकमा एक प्रकारको आक्रोश, असन्तुष्टि र गुनासो थियो । युवाहरू पनि फ्रस्टेड थिए । बुढा पङ्क्ति छन्, युवाहरूलाई मेरो पालो कहिले पनि आउँदैन, पार्टीमा सहज इन्ट्री पनि दिँदैनन् भन्ने थियो । विकल्पको राजनीति, मुलुकलाई समृद्ध गर्न यस खाले प्रयत्न पहिलेदेखि भइरहेको थियो ।”
उहाँले यसअघि पाँच वर्षको सरकार बनाउन जनताले म्यान्डेट दिएको तर, संसद् विघटन भएको प्रसङ्ग जोड्नुहुँदै यस खाले गतिविधि अति नै भएकोले गर्दा युवाले विद्रोह गरेको भन्नुभयो । “युवाले विद्रोह गरे, यसलाई पत्याइदिए । गतिशील समाजको चरित्रलाई बुझ्न नसकेर”, यसअघि देशका शीर्ष राजनीतिक दलहरूप्रति पनि जनताले आशा गरेको उहाँ बताउनुहुन्छ ।
आशा गर्ने कुरा एक ठाउँमा भएको तर, धेरै पटक विकल्पलाई ठगिरहेकाले पनि मतदाताको रोजाइमा नयाँ अनुहार पर्न सकेको उहाँ बताउनुहुन्छ । नयाँ अनुहारको सही मूल्याङ्कन उनीहरूको कामको आधारमा मात्र गर्न सकिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “उनीहरूको कामका आधारमा मूल्याङ्कन गरौँ । पुरानाले नयाँलाई स्थान दिनुपर्छ । नयाँ नेतृत्वलाई स्थापित गरेर, पुस्तान्तरण गरेर अघि बढ्नुपर्छ ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाल ललितपुर ३, पूर्व सभामुख एवम् माओवादी केन्द्रकी ओनसरी घर्ती काठमाडौँ २, नेपाली काँग्रेसका भीमसेनदास प्रधान काठमाडौँ ६, गठबन्धनका उम्मेदवार अस्मिता सिंह –मानुषी) यमी भट्टराई र एमालेका श्यामकुमार घिमिरे काठमाडौँ ७, नेकपा (एमाले) का सुरेन्द्र पाण्डे, काँग्रेसका विश्वनाथ पौडेल चितवन १, चितवन २ मा काँग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल लगायतका नेताहरू नयाँ अनुहारसँगको प्रतिस्पर्धामा पराजित हुनुभएपछि यसको विभिन्न कोणबाट टीकाटिप्पणी एवम् समीक्षा भइरहेको छ ।
उपसभामुख एवम् गठबन्धनबाट नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल भने अर्घाखाँची १ मा पूर्व उपप्रधानमन्त्री एवम् एमालेका टोपबहादुर रायमाझीसँगको प्रतिस्पर्धामा पराजित हुनुभएको थियो ।