काठमाडौँ ।सत्तारुढ दल नेपाली कांग्रेसका तीन जना सहमहामन्त्रीले चुनाव हारेका छन् । सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे र खानेपानीमन्त्रीसमेत रहेका अर्का सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका हुन् । १३ पदाधिकारीमध्ये पाँच जनाले चुनाव जितेका छन् ।
अब तीन जनाको परिणाम आउन बाँकी छ । सभापति शेरबहादुर डडेलधुराबाट सातौँ पटक चुनाव जितेका छन् । उपसभापति पूर्णबहादुर खड्काले पनि सुर्खेत-१ बाट चुनाव जितेका छन् ।
अर्का उपसभापति धनराज गुरुङ उम्मेदवार रहेको स्याङ्जा-२ मा मतगणना नै सुरु हुन सकेको छैन । महामन्त्री गगन थापा काठमाडौं-४ र अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापा-१ बाट चुनाव जितेका छन् ।
कांग्रेसका आठ सहमहामन्त्रीमध्ये सहमहामन्त्री फरमुल्लाह मन्सुर र जीवन परियार समानुपातिकतर्फ उम्मेदवार छन् । छ सहमहामन्त्री प्रत्यक्षतर्फ उम्मेदवार थिए ।
त्यसमध्ये सहमहामन्त्री किशोरसिंह राठोरले बाँके-३ बाट चुनाव जितेका छन् भने अर्का सहमहामन्त्री महेन्द्र यादवले धनुषा-४ बाट अग्रता बनाइरहेका छन् । यादवले १३ हजार ५५८ मत ल्याउँदा एमालेका रघुवीर महासेठले ११ हजार ६८९ मतका साथ पछ्याइरहेका छन् ।
अर्का सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । तर बाजुरामा मतदानकै दिन विवाद हुँदा दुई जनाको ज्यान गएपछि अहिलेसम्म पुन:मतदान नै हुन सकेको छैन ।
एक वर्षअघि भएको महाधिवेशनमा लोकप्रिय मतसहित सहमहामन्त्री बनेका नेताहरु केन्द्रमा थप शक्तिशाली भएर चुनावी मैदानमा उत्रिँदासमेत पराजित भएका छन् । सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक पराजित भएकी छिन् ।
०७४ मा मकवानपुर-२ बाट उम्मेदवार रहेकी उनी बामगठबन्धनका विरोध खतिवडासँग पराजित भएकी थिइन् । यसपटक कांग्रेसले उनलाई मकवानपुर-१ बाट उठाएको थियो ।
यहाँ राप्रपाका दिपकबहादुर सिंहले २ हजार ३९३ मतान्तरले पराजित गरेका छन् । उपाध्यायले २५ हजार ४२३ मत ल्याउँदा राप्रपाका सिंहले २७ हजार ८१६ मत पाए । छ महिनाअघि स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका सिंहले प्रतिनिधिसभा सदस्यमा भने ह्याभिवेट नेताहरुलाई पराजित गरेका हुन् ।
खानेपानीमन्त्री समेत रहेका अर्का सहमहामन्त्री उमाकान्त चौधरी बारा-१ बाट पराजित भएका छन् । उनी ०७४ मा भने बामगठबन्धनको बलियो शक्तिका बाबजुद चुनाव जितेका थिए । चौधरी नेकपा एमालेका अच्युतप्रसाद मैनालीसँग ९ हजार १३९ मतान्तरले पराजित भएका छन् । चौधरीले ३० हजार ५६ मत ल्याउँदा मैनालेले ३९ हजार १९५ मत ल्याए ।
त्यस्तै, अर्का सहमहामन्त्री भीष्मराज आङ्देम्बेपनि पाँचथरमा दोस्रोपटक पराजित भएका छन् । उनी ०७४ मा पनि एमालेका वसन्तकुमार नेम्वाङसँगै पराजित भएका थिए ।
यसपटक पनि नेम्वाङले ४७ मतान्तरले पराजित गरेका छन् । आङ्देम्बे ०७० को संविधानसभा सदस्य निर्वाचनमा पाँचथर-२ बाट निर्वाचित भएका थिए । यसपटक आङ्देम्बेले ३२ हजार ६३ मत ल्याउँदा नेम्वाङले ३२ हजार ११० मत पाएका छन् ।
कांग्रेसमा पदाधिकारी रहिसकेका नेताहरु रामचन्द्र पौडेल तनहुँ-१, शशांक कोइराला नवलपरासी पुर्व-१ र प्रकाशमान सिंह काठमाडौं-१ बाट चुनाव जितेका छन् भने नेता शेखर कोइरालाले पनि मोरङ-६ बाट चुनाव जितेका छन् ।
पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा-३ मा यसपटक पनि पराजित भएका छन् । पूराना नेता बलबहादुर केसीले पनि सोलुखुम्बूबाट चुनाव हारेका छन् ।
पुर्वउपसभापति विजयकुमार गच्छदार यसपटक पनि सुनसरी-३ बाट उम्मेदवार थिए । उनी जारी मतगणनामा निकै पछाडि छन् । सो क्षेत्रमा यसपटक नेकपा एमालेकी भगवती चौधरीले अग्रता लिइरहेकी छिन् । गच्छदार तेस्रो स्थानमा छन् । सिरहा-२ मा पुर्वकोषाध्यक्ष चित्रलेखा यादव पनि पछाडि छिन् । यहाँ जसपाका राजकिशोर यादवले अग्रता बनाइरहेका छन् ।
पुर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले नुवाकोट-२ मा फराकिलो अन्तरले अग्रस्थानमा छन् ।