Saturday, May 18


तनहुँको भानुमा पहिरोले पुरिदा एकै परिवारका २ जनाको मृत्यु

तनहुँ । तनहुँको भानुमा सोमबार परेको अविरल वर्षाका कारण पहिरो गएको छ । जिल्लाको भानु–९ सिमलगैह्रामा सोमबार दिउँसो करिब २ बजेतिर गएको पहिरोका कारण स्थानीय महेन्द्र धौलारीको घर पुरिएको छ । यस्तै नजिकैको अर्को मान्छे नबस्ने एक घर र धन्सारमा समेत क्षति पुगेको छ ।

घरमाथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका २ जनाकै मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका महेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा १७ वर्षीया शिताष्मा धौलारी र ८० वर्षीया तिलमाया धौलारी रहेका छन ।

जीवितै उद्धार गरिएको शिताष्माको उपचारका लागी लैजादा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै उनको हजुरआमा तिलमायाको भने पहिरोले पुरिएर मृत अवस्था शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा पहिरोमा पुरिएकाको उद्धार गरिएको थियो । गम्भीर अवस्थामा उद्धार गरिएको शितास्मालाई जेसिबीमा राखेर उपचारका लागि पठाइएको भएतापनि बचाउन नसकिएको भानु ९ का वडाअध्यक्ष निलम संजिवा श्रेष्ठले जानकारी दिनुभयो ।

महेन्द्रको पाँच सदस्यमध्ये दुईलाई भने पहिरोले पुरेको थियो । घर माथिबाट एक्कासी पहिरो आएकाले महेन्द्र, उनकी पत्नी र एक छोरी भने भाग्न सकेपनि दुई जना भने पुरिएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

डुम्रे–बेशिसहर सडकखण्ड अन्तरगत भानुको रानिबाँसमा कल्भट भत्किदा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

जिल्लामा पहिरोका कारण करिब २० घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । खोला बढेर आएको बाढीले करिब ४० घरलाई आंशिक क्षति पुर्याएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।

त्यस्तै गत आइतबार पहिरोमा पुरिएका व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हालसम्म तनहुँमा पहिराले पुरिएर १३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.